बैंकको ब्याजदर घटाउने विषयमा सरकार निरन्तर छलफलमा छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, चैत २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउने विषयमा सरकार निरन्तर छलफलमा रहेको बताएका छन् ।
मङ्गलवार उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले बैंकको ब्याजदर कम गर्ने र राजस्व सङ्कलनलाई बढाउने बारेमा सरकारका सबै अङ्गसँग आफू छलफलमा रहेको जानकारी दिए ।
उनले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आउँदो वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने बताए ।
प्रधानमन्त्री प्रचण्डले आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चिति उत्साहजनक हुँदै गएको बताउँदै अहिले देशसँग झन्डै ११ महिना पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको उल्लेख गरे ।
प्रधानमन्त्रीले लगानीमैत्री एवम् व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद भएको बताए ।
उनले सरकार आउँदो आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको पनि बताए ।















प्रतिक्रिया दिनुहोस्