‘अडियो प्रकरण’ छानबिन गर्न रास्वपा अनुशासन आयोगको बैठक बस्दै

काठमाडौँ, फागुन २८ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक आज (मंगलबार) बस्दैछ । सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्य मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ का बारेमा छानबिन गर्नका लागि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रीय समितिले निर्णय लिनेछ ।

सांसद श्रेष्ठले व्यापारी प्रसाईसँग गरेको भनी आएको अडियोको स्वर आफ्नो नभएको दाबी गर्दै आएका छन् । उनले चिन्दै नचिनेको प्रसाईसँग कसरी पैसा मागिन्छ ? भन्ने तर्क गर्दै आएका छन् । उता सो पार्टीका सभापति रवि लामिछानेले भने आरोप प्रमाणित भएमा उनलाई सांसद पदबाट बर्खास्त गर्ने यसअघि नै स्पष्ट पारिसकेका छन् । यसबीच सांसद ढाकाकुमार श्रेष्ठ प्रकरणसँग जोडिएको अर्को अडियो सोमबार राति बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्