ए डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित

काठमाडौं, चैत २७ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियाेगितामा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा साेमवार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हरायो । पुलिसका लागि बुद्धबल तामाङले दुई र मोसेसले एक गोल गरे । फ्रेन्ड्सका जेब्रिनले एक गोल फर्काए ।

सात खेलमा पहिलो जित निकालेको पुलिस चार अङ्कसहित तालिकाकाे पुछारमै छ । चार अङ्क नै रहेको फ्रेन्ड्स पुछारबाट दोस्रो स्थानमा छ ।

आजै दशरथ रङ्गशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका छन् ।

चर्च ब्वाइज १३ अङ्कसहित तालिकाकाे चौथो र एपीएफ ११ अङ्कसहित पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्