४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं, चैत २७ । पश्चिम नवलपरासीको बर्दघाटबाट करिब ४२ टन चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरीले उक्त ट्रकहरू आइतबार नियन्त्रणमा आएको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको थापाले बताए।

नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्