दुर्गा प्रसाईंसँग २ करोड मागेको अडिओबारे अनुसन्धान हुन्छ– उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, चैत २७ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणबारे अनुसन्धान हुने बताएका छन्।

आज बिहान चितवनमा पत्रकारहरूको जिज्ञासामा गृहमन्त्री श्रेष्ठले अडिओ प्रकरणबारे अनुसन्धान गरिने जे पुष्टि हुन्छ, त्यसअनुसार कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन्।

‘दुई करोडको कुरा आएको छ’, उनले भने, ‘अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यहीअनुसार अघि बढ्ने कुरा हुन्छ।’

अडिओ प्रकरण अहिले आधिकारिक रूपमा अनुसन्धानको प्रक्रियाबाट निष्कर्षमा पुगिनसकेकाले अनुसन्धानको प्रक्रिया अघि बढेपछि जे पुष्टि हुन्छ त्यहीअनुसार अघि बढ्ने उनको भनाइ छ।

उपप्रधानमन्त्री श्रेष्ठले अडिओको वास्तविकताबारे सम्बन्धित पार्टी र तिनका नेताले नै प्रस्ट पार्नुपर्ने पनि बताए।

आफ्ना सांसदले २ करोड मागेको अडिओबारे यसो भन्छन् रवि (भिडिओ)
रास्वपाका समानुपातिक सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग आफू मन्त्री बन्नका लागि २ करोड रुपैयाँ आवश्यक परेकाले त्यसको व्यवस्था गरिदिन अनुरोध गरेको अडिओ कुराकानी आइतबार सार्वजनिक भएको थियो।

उक्त अडिओमा उनले पार्टी सभापति रवि लामिछानेको ‘टिम’ले मन्त्री बन्ने भए आफूलाई २ देखि अढाई करोड बुझाउन भनेको दाबी गरेका छन्। सोही पैसा जुटाइदिन उनले दुर्गा प्रसाईंसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्