‘ए’ डिभिजन लिगमा एनआरटीको पहिलो जित

काठमाडौं, चैत २६ ।  जेनिश प्रजापतिको निर्णायक गोलमा न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा जेनिशले अन्तिम मिनेट बाँकी रहँदा गरेको गोल निर्णायक बनेपछि एनआरटीले महत्त्वपूर्ण तीन अंक निश्चित गर्‍यो ।लिगमा पहिलो जित निकालेको एनआरटी रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ ।

खेलमा अग्रता भने हिमालयन शेर्पाले लिएको थियो । खेलको १४औँ मिनेटमा खामिर गिल्सनले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । यही गोलमा शेर्पाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

तर, ६७औँ मिनेटमा रोहत खड्गीले गोल गर्दै एनआरटीलाई खेलमा फर्काएका थिए । यस्तै, खेलको निर्धारित समय सकिन अन्तिम मिनेट बाँकी रहँदा जेनिशले निर्णायक गोल गरेपछि एनआरटीले पुनरागमन जित निकाल्यो ।

जितसँगै एनआरटीले सात खेलबाट ६ अंक जोडेको छ । हिमालयन शेर्पाले पनि लिगमा सात खेलबाट ६ अंक नै जोडेको छ ।

 

प्रतिक्रिया दिनुहोस्