सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु: प्रधानमन्त्री दाहाल

काठमाडौं, चैत २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राख्दै समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिए ।

त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताए।

दीक्षित विद्यार्थीप्रति लक्षित गर्दै प्रधानमन्त्री दाहालले परिवार, समाज र देशका लागि पाइला पाइलामा परीक्षा दिनुपर्ने उल्लेख गर्दै उनले अबका परिणामले समाज र देशको भविष्य निर्धारण गर्ने बताए।

आफूले अन्याय, गरिबी, शोषण र विभेदको अन्त्य गर्ने सपना देखेको प्रधानमन्त्री दाहालको भनाइ थियो। आफूले राजनीतिक उपलब्धि प्राप्त गरिसके पनि सपना देख्न नछोडेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्