नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति पौडेललाई खाँणकाे आग्रह
काठमाडौं, चैत २६ । सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।
संघीय संसद्को दुवै सदनले पास गरी दोस्रो पटक पठाइएको सो विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहीनलाई नागरिकता दिने कानुनी प्रबन्ध गर्नुपर्ने उनको भनाइ थियो ।
आइतबार नेपाल प्रेस युनियन, धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले सो विधेयक प्रमाणीकरणका लागि आवश्यक वातावरण बनाउन सरकार र राजनीतिक पार्टीहरूको पनि ध्यानाकर्षण गराए ।
संविधान अनुसार संघीय संसद्को दुवै सदनले पास गरी दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको सो विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएर बसेको छ । सो विधेयक तत्काल प्रमाणीकरण गरी कानुनको अभावमा नागरिकता नपाएकाहरूलाई नागरिकता दिने कामको थालनी गर्नुपर्ने पनि नेता खाँणले बताए ।
उनले भने, ‘अनागरिकलाई पनि नागरिकता दिने गरी राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयक स्वीकृत गर्न, प्रमाणीकरण गर्न म यो जनकपुरको नेपाली कांग्रेसको प्रदेश कार्यालयबाट सम्पूर्ण राजनीतिक पार्टीहरूलाई आग्रह गर्दछु–त्यो वातावरण गराउनुहोस् । र, सरकारले, राजनीतिक दलहरूले सम्माननीय राष्ट्रपतिसँग आग्रह गरेर त्यो नागरिकता विधेयकलाई प्रमाणिकरण गरियोस् । र, ती नेपाली नागरिक, जसले नागरिकता प्राप्त गर्न सकेका छैनन् कानुनको अभावमा । उनीहरूलाई नागरिकता दिने काममा थालनी होस् भन्ने म आग्रह गर्न चाहन्छु ।’
नेता खाँणले संविधानको प्रावधान अनुसार नै आएकाले सो विधेयकलाई प्रमाणीकरण गर्न ढिलाइ गर्नुपर्ने कुनै कारण नरहेको जिकिर समेत गरे । उनले वैशाख १० गते हुने बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ को उपचुनाव सकिए लगत्तै सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो हुने गरी सत्तारुढ दलहरूले प्रदेश सरकार पुनर्गठन गर्ने पनि स्पष्ट पारे ।















प्रतिक्रिया दिनुहोस्