प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक, यी हुन मुख्य न्युनतम साझा कार्यक्रम

काठमाडौं, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् । १० दलीय गठबन्धनका तर्फबाट तयार भएको संयुक्त सरकारका प्राथमिकता र नीति तथा कार्यक्रम प्रधानमन्त्री दाहालका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन् ।

बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच सार्वजनिक न्यूनतम साझा कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारका प्राथमिकताहरूमा मुख्यतः नौ क्षेत्रहरूलाई समेटेका छन् ।

१। संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जनर विकास, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयन गर्ने

२। देशको अर्थतन्त्र रूपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार गर्ने ।

३। समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका विभेदहरूको अन्त्य गरी समता, स्वतन्त्रता एबम् न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने ।

४। गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने । भ्रष्टाचारको छानबीन गरी कडा कारबाही गर्ने ।

५। शान्ति प्रकृयालाई पूणर्ता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने ।

६। उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने ।

७। खर्च कटौती र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने ।

८। जलवायु परिवर्तन, जैविक विविधता ह्रास र वातावरणीय प्रदुषण जस्ता विश्वव्यापी सङ्कटले उत्पन्न गरेको जोखिम न्यूनिकरण गरी पर्यावरणीय सन्तुलन कायम गर्ने ।

९। राष्ट्रिय हितको रक्षा एबम् जनताको समृद्धिका लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अबलम्बन गर्ने ।

प्रतिक्रिया दिनुहोस्