चिनियाँ विदेशमन्त्री र परराष्ट्र सचिव पौड्यालबीच बेइजिङमा भेटवार्ता

काठमाडौं, चैत २३ ।  चिनियाँ विदेशमन्त्री छिन काङ र परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ । बेइजिङस्थित विदेश मन्त्रालयमा आज (बिहीबार) उनीहरूबीच भेटवार्ता भएको नेपाली दूतावासले जनाएको छ ।

भेटमा नेपाल–चीनबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वार्तामा चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठ, नेपालका परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा र दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी र उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल र चीनबीच भोलि (शुक्रबार) कूटनीतिक परामर्श संयन्त्रको १५औं बैठक बस्दैछ । बैठकमा सहभागी हुन परराष्ट्र सचिव पौड्यालको नेतृत्वको नेपाली टोली बेइजिङ पुगेको छ । बैठकअघि परराष्ट्र पौड्याल नेतृत्वको टोली विदेशमन्त्री काङसँग भेटवार्ता गरेको हो ।

शुक्रबार हुने संयन्त्रको बैठकमा चीनको तर्फबाट विदेश मन्त्रालयका उपमन्त्री सोन् वेतोङले नेतृत्व गर्नेछन् । बैठकमा नेपाल–चीन सम्बन्ध, बिआरआई परियोजनालगायत मुख्य एजण्डा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्