‘ए’ डिभिजन लिग: थ्री स्टारले आर्मीलाई हरायो

काठमाडौं, चैत २३ ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीवार सम्पन्न खेलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको छ।

च्यासल स्टेडियममा सम्पन्न खेलमा थ्री स्टारले आर्मीमाथि १-० गोलको जित निकालेको हो।

थ्री स्टारको जितमा मार्टिन्स अजयीले खेलको १६ औँ मिनेटमा निर्णायक गोल गरे। प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले प्रयास गरेपनि गोल गर्न भने सकेनन्।

त्यस्तै बिहीवार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मछिन्द्र क्लब र हिमालयन शेर्पा क्लब १-१ गोलको बराबरीमा रोकिए। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो।

दोस्रो हाफमा सत्यम शर्माले पेनाल्टीमार्फत गोल गर्दै शेर्पालाई अग्रता दिलाए। तर, इन्ज्युरी समयमा पाएको पेनाल्टीको अवसरलाई मछिन्द्रका विमल घर्तिमगरले गोल फर्काउँदा मछिन्द्र हारबाट जोगियो र खेल १-१ गोलको बराबरीमा रोकियो।

जितसँगै थ्री स्टारले १० अंक जोडेको छ भने आर्मीको ८ अंक छ। त्यस्तै मछिन्द्र र हिमालयन शेर्पाको समान ६ अंक छ।

प्रतिक्रिया दिनुहोस्