सरकारको न्युनतम साझा कार्यक्रम गठबन्धनबाट अनुमोदन, साँझ ५ बजे सार्वजनिक गरिँदै
काठमाडौं, चैत २३ । १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले सो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरुबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको जानकारी दिए।
उनले साना केही सुझावहरु आज बेलुकी ५ बजेसम्म दल र नेताहरूले दिनसक्ने बताए। महासचिव गुरुङले आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको पनि स्पष्ट पारे।
न्यूनतम साझा कार्यक्रम तय गर्नका लागि नेपाली कांग्रेसबाट रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट विजय पौडेल सम्मिलित कार्यदल बनेको थियो।
सो कार्यदलले तयार पारेको प्रतिवेदन गठबन्धन बैठकबाट अनुमोदन गर्न गठबन्धनको बैठक बसेको थियो।















प्रतिक्रिया दिनुहोस्