बाबुरामको प्रश्न- हाम्रा छोराछोरी कहिलेसम्म विदेश पलायन भइरहने ?

काठमाडौं, चैत २३ ।  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालीहरू किशोर अवस्थामै विदेश पलायन भइरहने कहिलेसम्म भनेर प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले हाम्रा छोराछोरी किशोर अवस्थामै विदेश पलायन भइरहने कहिलेसम्म ? भन्दै प्रश्न गरेका हुन् ।

अब रणनीतिक र संरचनात्मक रूपान्तरणका मुद्दामा विमर्श केन्द्रित हुनुपर्ने उनको भनाई छ । ‘टाउकाको ओखती नाइटामा भनेझैँ अर्थतन्त्रका तत्कालीन र सतही कुरामा भन्दा रणनीतिक र संरचनात्मक रूपान्तरणका मुद्दामा विमर्श केन्द्रित गरौँ,’ उनले भनेका छन् ।

१. हाम्रो औसत प्रतिव्यक्ति जीडीपी विश्वको भन्दा १० गुना कम छ । यसलाई विश्वको हाराहारीमा पुर्‍याउन केही दशक निरन्तर २ अंकको वृद्धिदर चाहिन्छ तर हाम्रो ४० वर्षको औसत वृद्धिदर ४५ वरपर मात्र छ । जबकि हाम्रा छिमेकी र अरू एसियाली देशले यो बिचमा ठूलो फड्को हानिसके ।

२. सुगौली सन्धियता हाम्रो वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएर १५ गुना नाघेको छ । खुला सीमानाबाट झण्डै आधा अर्थतन्त्र चुहिँदै आएको छ । सस्तो श्रम निर्यात र महँगो निर्मित वस्तु आयातको असमान सम्बन्धले राष्ट्रिय अर्थतन्त्र पूरै पराश्रित बनेको छ । बाच्छाले साँढेसँग जुध्न नसकेझैँ हिजो औद्योगिक वस्तुमा परनिर्भर भएका हामी अब कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दैछौं ।

३. हाम्रा उद्यमी व्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर क्रमशः अरूको बिचौलिया बनेर बाँच्ने बाध्यात्मक अवस्थामा पुग्दैछन् । देशको अर्थतन्त्र/राजनीति/राज्य बिचौलियाहरूको कब्जामा गइरहेछ । हाम्रा छोराछोरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भइरहेछन् । यो कहिलेसम्म ?’

प्रतिक्रिया दिनुहोस्