तराई–मधेसमा विकासको लहर ल्याएको नै एमालेले हो : अध्यक्ष ओली
काठमाडौं, चैत २२ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले सरकारको नेतृत्व लिएका बेला तराई–मधेसमा विकासको लहर नै ल्याएको बताएका छन्।
बुधबार वीरगन्जमा आयोजित अखिल नेपाल पिछडावर्ग (ओबिसि) महासंघको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरे।
उनले एमाले नेतृत्व सरकारको साढे तीन वर्षकै कार्यकालमा तराई–मधेसमा बहुप्रतिक्षित हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग, हरेक पालिकामा स्वास्थ्य संस्थाको भवन जस्ता राष्ट्रिय गौरबका आयोजनाहरुको निर्माण भएको जिकिर गरे।
उनले एमालेलाई मधेस प्रदेशमा निषेध गर्ने नारा चलिरहकै बेला एमाले नेतृत्वको सरकारले मधेसका १ लाख २२ हजार हेक्टर जग्गा सिञ्चित गर्ने ‘सुनकोशी(मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ ल्याएको पनि सुनाए।
एमाले नेतृत्वकै सरकारले मधेसमा ‘जनता आवास ’ कार्यक्रम ल्याएर हजारौँ गरिब दलितलाई पक्की घर बनाएर दिएको पनि जिकिर उनले गरे। उनले मधेसका वीरगन्ज, जनकपुरजस्ता ठूला सहरमा चार र ६ लेनको कालोपत्रे सडक पनि आफू प्रधानमन्त्री भएकै बेला निर्माण भएको पनि बताए।
ओलीले भने, ‘एमाले नेतृत्वको सरकार हुदाँ जनातामा यो देशमा सरकार छ भन्ने अनुभूति थियो। तर अहिले त जनताले सरकार नै नभएको अनुभूति गरिरहेका छन्। पूर्व प्रधानमन्त्री ओली राष्ट्रिय गान त्रुटिपूर्ण रहेकाले सच्याउन सरकारसँग आग्रह पनि गरे।
ओलीले भने, ‘राष्ट्रिय गानमा रहेको सुरुको धुन हटाउनुपर्छ किनकि राष्ट्रय गान भनेको शब्दको धुनबाट सुरु हुनुपर्छ र शब्दकै धुनबाट अन्त्य हुनुपर्छ। तर हाम्रो राष्ट्रिय गानमा भने शब्द सुरु हुनुअगाडि धुन राखिएको छ। त्यो त्रुटिपूर्ण छ। त्यो धुन हटाएर सच्याउनुपर्छ। म सरकारसँग यो आग्रह गर्छु।
त्यस्तै चलचित्र भवन (सिनेमा घर) मा चलचित्र सुरु हुनुभन्दा पहिले राष्ट्रिय गान बजाइदा पर्दामा देखाइने राष्ट्रको पृष्ठभूमि (तस्बिर) संविधानको तस्बिर राख्न पनि ओलीले सरकारसँग आग्रह गरे।
एमाले अध्यक्ष ओलीले पिछडावर्ग महासंघले अरु कुनै जाति वा समुदायको अधिकार खोस्नका लागि नभई आफनो अधिकार र पहिचानका लागि संघर्ष गरिरहेको बताए ।उनले सामाजिक कुरीति , विकृति हटाउनका लागि सामाजिक आन्दोलन चलाउन ओबिसि महासंघलाई सुझाव दिए। त्यसका लागि ओबिसि महासंघलाइ एमालेले भरपुर साथ र सहयोग गर्ने उनले बताए।















प्रतिक्रिया दिनुहोस्