जनतालाई फरक अनुभूति दिन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्छन्:  प्रधानमन्त्री दाहाल 

काठमाडौँ , चैत २२ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् । बुधबार नेकपा माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रूपमा सरकार बिस्तार हुने बताए । अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने उनको भनाई छ । उनले अबको बजेटमा गुणात्मक रूपमा र जनताले केही राहत पाउने गरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए ।

जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने उनले औँल्याए । ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण रूपमा छ । अहिले सरकारले करिब करिब पूर्णता पाएको छ । आज भोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ । हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘केही गुणात्मक, जनताले केही राहत पाउने गरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ । त्यो महसुस गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा छ । यसमा म गम्भीर छु ।’

प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने पनि उनको भनाइ रहेको थियो । ङ्घ

प्रतिक्रिया दिनुहोस्