उपनिर्वाचनः एक ठाउँमा हार्दै, अर्कोमा सर्दै

काठमाडौँ , चैत २१ ।  चितवन, तनहुँ र बाराका तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा सोमबार विभिन्न दल र स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका हुन् ।

वैशाख १० गते प्रतिनिधिसभा सदस्यका तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यसमा एउटा संयोग यस्तो छ कि तीन जना उम्मेदवार यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजित हुन् ।

सप्तरी-२ मा पराजित उपेन्द्र यादव, काठमाडौं-६ मा पराजित सर्वेन्द्र खनाल र काठमाडौं-१ मा पराजित रमेश खरेल पुन: उम्मेदवार बनेका हुन् । यादव जनता समाजवादी पार्टीका अध्यक्षसमेत हुन् ।

त्यस्तै खनाल पूर्वआईजीपी र खरेल पूर्वडीआईजी हुन् । उनीहरूमध्ये अहिले यादव र खरेल बारा-२ र खनाल तनहुँ-१ बाट उम्मेदवार बनेका छन् । यही वर्ष एक ठाउँमा पराजित बनेका उम्मेदवार पुन: अर्को क्षेत्रबाट जित हात पार्दै संसद् पुग्ने दाउमा रहेका छन् ।

कसको मत कति ?

यहाँ गत मंसिरमा सम्पन्न चुनावमा दलहरूले पाएको मतलाई विश्लेषण गरिएको छ । यद्यपि अहिले यही नै आँकडामा दल र उम्मेदवारले मत पाउँछन् भन्ने आधार भने छैन ।

बारा-२ : गएको निर्वाचनमा यहाँ प्रत्यक्षतर्फ जपपाका रामसहाय १३ हजार ८२२ मत ल्याएर विजयी भए । उनको प्रतिस्पर्धी कुशवाहले १३ हजार ४६८ मत पाए । स्वतन्त्र उम्मेदवार त्रय रामकिशोरप्रसाद यादव, रवीन्द्रप्रसाद यादव, अरुणकुमार ज्ञवालीले क्रमशः ११ हजार ४३, १० हजार ७५० र ७ हजार ६९८ मत पाएका छन् । जनमत पार्टीले २ हजार ७२५ मत पाएको छ ।

समानुपातिकतर्फ जसपा १३ हजार २४२, कांग्रेस ११ हजार १७९, एमाले ९ हजार १९३, जपा ८ हजार ८४६, लोसपा ४ हजार २३५, नाउपा ३ हजार ७९४, माओवादी ३ हजार २६५, नेपाल संघीय समाजवादी २ हजार ३६६, नेकपा एस १ हजार ४५५, रास्वपा १ हजार ४५५ र राप्रपा ९९२

अंकगणित हेर्दा सत्तापक्षको जम्मा मत ३३ हजार ३७६ मत रहेको छ । त्यस्तै एमालेको ९ हजार १९३, जपाको ८ हजार ८४६, नउपाको ३ हजार ७९४ र अन्यको ३ हजार ३५८ मत पाएका छन् ।

चितवन-२ : मंसिरमा भएको निर्वाचन परिणाम हेर्दा रास्वपा अत्यधिक मतले अगाडि रहेको छ । चितवन–२ मा रविले ४९ हजार ३०० मत पाएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रेष्ठले १४ हजार ९८८ मत पाए । एमालेका पोखरेलले १४ हजार ६५२ मत पाए ।

समानुपातिकतर्फ रास्वपाको ३५ हजार ९४५, एमालेको १६ हजार ७८४, कांग्रेसको १२ हजार १३२, माओवादीको ८ हजार ४०७ र राप्रपाको ३ हजार २१८ मत रहेको छ । एसको ६१६, मंगोल नेसनल अर्गनाइजेसनको ४५६, सुशासन पार्टीको ३३०, मालेको २२०, जपाको १५५, हानेपाको १२६, नाउपाको १२४ र जनमोर्चाको १२२ रहेको छ ।

यसरी तथ्याङक हेर्दा सत्तापक्षले जम्मा २१ हजार ५५६, रास्वपा एक्लैले ३५ हजार ९४५ मत पाएको छ । त्यस्तै एमाले १६ हजार ७८४, राप्रपाले ३ हजार २१८ र अन्यले १ हजार १३२ मत पाएको छ ।

तनहुँ-१ : मंसिरमा भएको निर्वाचनमा यहाँबाट कांग्रेसका उम्मेदवार पौडेलले २५ हजार ३६१ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाए ।

समानुपातिकतर्फ कांग्रेसको २० हजार १५८, एमालेको १६ हजार ६८३, रास्वपाको १२ हजार ७७३ र माओवादीको ७ हजार ३२६ मत रहेको छ । यसैगरी राप्रपा ३ हजार ५७७, एस ५५० रहेको छ ।

मतपरिणाम हेर्दा सत्तापक्षको जम्मा मत २८ हजार ३४ रहेको छ । रास्वापाको १२ हजार ७७३ र विपक्षी एमाले १६ हजार ६८३ र राप्रपा ३ हजार ५७७ मत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्