नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ नेपाली बालबालिकाको उद्धार

काठमाडौं, चैत २० । नयाँ दिल्ली रेल्वे स्टेशनबाट सात जना नेपाली बालबालिकाको उद्धार भएको छ । एक हप्ता लामो विशेष उद्धार अभियानबाट सात जना नेपाली बालबालिकाको उद्धार भएको हो ।

बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गएको मार्च २७ देखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बङ्गलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झन्डै चार सय जना बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् ।

नयाँ दिल्ली रेल्वे स्टेशनका विभिन्न प्लेटफर्म, रेल्वे स्टेशनका प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीले बालबालिकाको उद्धार गरेका हुन् ।

कार्यक्रममा बोल्दै दिल्ली सरकारअन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले सात दिनसम्म चौबिसै घण्टा चलाइएको अभियानमा सात नेपाली बालबालिकाको उद्धार गरिएको बताए । नेपालको तराई क्षेत्र विशेषगरी रौतहटका बालबालिका धेरै दिल्ली पुग्ने गरेका उनले बताए ।

घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला सहर घुम्ने रहर र प्रलोभनमा परेर बालबालिका दिल्ली पुग्ने गरेका पाइएको उद्धारमा खटिएकाहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्