चितवन–२ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

काठमाडौ., चैत २० । वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्।

लामिछानेले सोमबार चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

यस क्षेत्रको उपनिर्वाचनमा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्दै छन्।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन्। उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्