मिटरब्याज पीडितहरू विश्वस्त भएर घर फर्किन लाग्नुभएको छ: मन्त्री श्रेष्ठ

काठमाडौं, चैत १९ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन्।

आइतबार स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरूलाई भेट्न गएका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताएका हुन।

सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरू सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेका बताएका थिए। सरकार सहमतिप्रति गम्भीर रहेको भन्दै सहमतिको कार्यान्वयन हुने स्पष्ट पारे।

मन्त्री श्रेष्ठले समस्या समाधानका लागि आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको भन्दै आवश्यक निर्णय गरेर प्रक्रिया अगाडी बढ्ने जानकारी दिए।

पीडितहरू पनि सहमति कार्यान्वयन हुनेमा विश्वस्त देखिएका छन्। सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनीहरूले आफूहरूले न्याय पाउनेमा विश्वास व्यक्त गरे। उनीहरूले सरकारले गरेको सहमतिप्रति विश्वास रहेको बताए।

मनोजकुमार पासवानले आफूहरू भोलि-सोमवार)सम्ममा गाउँ फर्किसक्ने बताए। उनले गाउँसम्म पुग्ने व्यवस्थापन आफूहरू स्वयंले गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्