शान्ति सुरक्षा कायम र नागरिकको जीवन सहज बनाउनु सरकारको दायित्व : मन्त्री गंगानारायण श्रेष्ठ 

काठमाडौं । सिन्धुली, मकवानपुर र चितवनका सुरक्षा समितिका पदाधिकारीसँगको समन्वयात्मक बैठक वागमती प्रदेशको राजधानीमा हेटौंडामा सम्पन्न भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा मन्त्री गंगानारायण श्रेष्ठ प्रमुख अतिथि रहेको बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र आगामी योजनाबारे सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी गराएका थिए । उनीहरुले जिल्लामा देखिएको सुरक्षा चुनौती, सवारी दुर्घटना, प्राकृतिक विपद्को व्यवस्थापन, नदीजन्य पदार्थको चोरी तस्करी, वन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापन, लागूऔषध नियन्त्रण, बढ्दो आत्महत्या, घरेलु हिंसा, अत्याधुनिक उपकरणको अभावमा अपराध नियन्त्रणमा समस्याजस्ता विषयमा जानकारी गराएका थिए । मन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम राख्नु र नागरिकको जीवन सहज बनाउनु सरकारको दायित्व भएको भन्दै त्यसको लागि सरकारले पहल गर्ने बताएका थिए ।

मन्त्री श्रेष्ठले प्रदेशलाई बलियो नबनाएसम्म संघीयताको सफल कार्यान्वयन हुन सम्भव नरहेकोमा जोड दिए । उनले संविधानमा व्यवस्था भए अनुसार संघीय सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार दिनुपर्ने बताए । ऐन बनेर पनि प्रहरी समायोजन हुन नसक्नु, निजामती कर्मचारी समायोजनसम्बन्धी ऐन नै बन्न नसक्नु विडम्बनाको विषय रहेको भन्दै मन्त्री श्रेष्ठले हिजोका कतिपय ऐन कार्यान्वयन गर्दा समस्या भइरहेको भन्दै समय अनुसार परिमार्जन गर्ने सरकारको सोच रहेको बताए । उनले सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा गर्ने र अत्याधुनिक प्रविधिका सीसी क्यामेरा जडान गर्ने पनि जनाए ।

उनले नागरिकलाई पनि आफ्नो कर्तव्य पूरा गर्न आग्रह गरेका थिए । यसअघि यही चैत्र १२ गते काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेको सुरक्षा समितिको बैठक मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्