को को बन्दैछन् मन्त्री ?

काठमाडौं, चैत १७ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नयाँ मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे शपथ खुवाउने तयारी भएको छ ।

म्याराथन बैठक र छलफल पछि गठबन्धनमा भागबण्डा टुंगिएपनि दलभित्रका आन्तरिक विवादले आजपनि सरकारले पूर्णता भने नपाउने भएको छ ।

कांग्रेस भित्र सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षबीच विवाद हुदा आज चार जनाले मात्र मन्त्रीको शपथ लिने भएका छन् ।

जस अनुसार कांग्रेसबाटपूर्णबहादुर खड्का, प्रकाशशरण महत,रमेश रिजाल, सीता गुरुङ मन्त्री बन्दै छन् । शेखर पक्षले सम्मानजनक भाग नपाएको भन्दै आफु पक्षको नाम दिन अस्वीकार गरेपछि सभापति देउवाले चार जनाको नाम प्रधानमन्त्रीलाई पठाएको उनी निकट नेताले खरीबोटलाई जानकारी दिएका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेतले मन्त्रीको शपथ लिने भएका छन् । माओवादी केन्द्रबाट यसअघि प्रधानमन्त्री प्रचण्डसहित सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री सुदन किराँती सरकारमा छन् । माओवादीले आफ्नो मागमा परेको पाँच जनाको कोटामा बस्नेतलाई मन्त्री बनाउदै छ ।

त्यस्तै एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन् । त्यस्तै जसपाबाट अशोक राई मन्त्री बन्दै छन् भने लोसपाबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरी र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव मन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्