मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन: महामन्त्री शर्मा

काठमाडौं, चैत १६ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्न नहुने बताएका छन्।

बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजी पीडितहरूलाई भेट्न ढिलो गर्न नहुने बताएका हुन।

महामन्त्री शर्माले मिटरब्याजी पीडितहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्ब भेट गर्न आग्रह गरे।

उनले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरूको मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुनु रहेको उल्लेख गरे। शर्माले मिटरब्याजी पीडितहरूले उठाएका मुद्दाहरूको सम्बोधनका लागि आवश्यक कानुन निर्माण गर्न र संसद्मा छिटो भन्दा छिटो कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

उनले मिटरब्याजी पीडितहरू कुनै पनि राजनीतिक दलको छत्रछायामा रहेको भए पनि उनीहरूको माग सम्बोधन गर्नु सरकारको दायित्व रहेको बताए ।

महामन्त्री शर्माले वर्तमान अवस्थामा लोकतन्त्र भनेको कतिले बोल्न पाए भन्ने नभई बोलेका कुरा राज्यले कति सम्बोधन ग¥यो भन्ने कुरा मुख्य रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्