सामान्य बन्दै विराटनगरको अवस्था , झडपमा डीएसपीसहित १५ सुरक्षाकर्मी घाइते
काठमाडौं, चैत १४ । पहिचान पक्षधरको प्रदर्शनपछि सुरक्षाकर्मीसँग झडप हुँदा तनावग्रस्त बनेको विराटनगरको अवस्था सामान्य बन्दै गएको छ।
प्रदर्शनकारीले प्रहार गरेको ढुंगा र इँटाले लागेर नेपाल प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक)सहित १५ जना सुरक्षाकर्मी घाइते भएका छन्।
घाइते हुनेमध्ये १२ जना नेपाल र ३ जना सशस्त्र प्रहरी छन्। नेपाल प्रहरीतर्फ वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी विजय श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर (प्रहरी निरीक्षक) रोहित शर्मासहित १२ जना घाइते भएका हुन्।
सशस्त्र प्रहरीतर्फ १ जना नायव निरीक्षक र २ जना जवान घाइते भएका छन्। घाइतेको हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
झडपमा परेर नेपाल र सशस्त्र प्रहरी गरेर १५ जना सुरक्षाकर्मी घाइते भएको उनले बताए। घाइतेमध्ये १ जनाको अवस्था अलि गम्भीर रहेको र अरुको अवस्था सामान्य रहेको उनले बताए । ‘घाइते सुरक्षाकर्मीको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनकारीको ढुंगा लागेर सुरक्षाकर्मी घाइते भएका हुन्।
प्रदर्शनका क्रममा उत्तेजित हुँदै आन्दोलनकारी आक्रामक बनेर सुरक्षाकर्मीमाथि जाइलागेको दाहालले बताए।
आन्दोलनकारी उत्तेजित भए पनि सुरक्षाकर्मीको संयमताकै कारण ठूलो क्षति हुन नपाएको डीएसपी दाहालको भनाइ छ।
उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीबाट १३ सेल अश्रुग्यास र १७ राउण्ड हवाईफायर भएको छ। सशस्त्रले ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो।
लगभग डेढ घण्टाजति प्रदर्शन गरेपछि कोणसभा गरेर आन्दोलनकारी फर्किएका छन्। गाडी चढेर प्रदर्शनका लागि उनीहरु विराटनगर आएका थिए।
प्रदर्शन र कोणसभा सकेर आन्दोलनकारी गाडीमै फर्किएपछि विराटनगरको अवस्था सामान्य बन्दै गएको डीएसपी दाहालले बताए।















प्रतिक्रिया दिनुहोस्