भू-राजनीतिक अवस्थिति र शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्य सुरक्षा चुनौती : प्रधानमन्त्री
काठमाडौं, चैत १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको भू–राजनीतिक अवस्थित र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीले सुरक्षा चुनौती बढी रहेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेका सुरक्षा चुनौतीका आयाम र त्यसका कारण हुनेसक्ने खतराबारे धारणा राखेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको बताएका छन् । उनले भने, ‘देशको भू–राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरु लगायतका चुनौतीहरु आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ ।’
उनले यस्ता चुनौतीहरूको डटेर सामना गर्नुपर्ने पनि बताएका छन् । ‘राजनीतिक, अर्थतन्त्र, कूटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन स्रोतले सम्पन्न गराउँदै समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गरी त्यस्ता चुनौतीहरुको डटेर सामना गर्न हामी सक्षम छौं भन्ने मैले विश्वास लिएको छु । यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने पनि म विश्वास दिलाउँछु’, उनले भने ।
प्रधानमन्त्री दाहालले परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्याङ्कन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी रहेको बताएका छन् । ‘हाम्रो प्राथमिकता र विश्लेषण सुरक्षा खतराको बहु–आयामिक पक्षहरू र त्यसको समाधानको कुशलतामा केन्द्रित हुनु पर्दछ । त्यसैले तपाईंहरूलाई परम्परागत एवं विकसित सुरक्षा खतराका नयाँ आयामहरूको थप गहिरो अध्ययन र विश्लेषण गरी आवश्यक पहलकदमीका लागि पनि म विशेष अनुरोध गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने ।















प्रतिक्रिया दिनुहोस्