मिटरब्याज पीडितहरुलाई शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह

काठमाडौं , चैत १४ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले खुलामञ्च आन्दोलन निषेधित क्षेत्र नभएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले मिटरब्याज पीडितहरूलाई खुलामञ्च प्रवेश नदिइएको बारे प्रष्टीकरण दिंदै माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद भएको बताए।

उनले भनेका छन्, ‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो। शिविर बनाएर महिनौँ वा वर्षौं बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो। यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ।’

साथै आफ्नो सुझावअनुसार नै मिटरब्याज पीडित बालुवाटार गएको उनले बताएका छन् ।खुलामञ्चको विषयमा अनावश्यक ऊर्जा खर्चिन भन्दा समस्या समाधानको लागि बालुवाटार जानु सुझाव दिएको उनको भनाई छ । उनले माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गरिनु शङ्कास्पद भएको बताए ।

उनले पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले सङ्घीयतामाथि निर्मम प्रश्न गरिरहेको बताए । पीडितहरूको यो अवस्थाले गाउँ गाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको उल्लेख गर्दै उनले सङ्घीय सरकारलाई पीडा सम्बोधनका लागि अतिशीघ्र चासो दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्