रास्वपाले गृह नपाउने, यी तीनवटा मन्त्रालयमा गर्यो दाबी

काठमाडौं , चैत १४ । राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार मन्त्रालयसहित तीनवटा मन्त्रालयमा दाबी गरेको छ ।

उपनिर्वाचनअघि नै सरकारमा सहभागी हुन चाहेको रास्वपाले यसअघिजस्तै गृह मन्त्रालय भने नपाउने भएको छ ।

गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीको नेतालाई दिन चाहेका छन् ।

स्रोतका अनुसार दाहालले गृहको नेतृत्व नारायणकाजी श्रेष्ठ वा शक्ति बस्नेतमध्ये एकलाई दिने तयारी गरेको स्रोतले बतायो ।

यता गृह माओवादीले नै राख्ने अवस्था आउँदा कांग्रेसलाई अर्थ मन्त्रालय दिने सहमति जुटेको छ । रास्वपाको दाबी भौतिक पूर्वाधार भए पनि निर्णय भने भइनसकेको बालुवाटार स्रोत बताउँछ ।

अघिल्लो सरकारमा सहभागी हुँदा रास्वपाले उपप्रधानसहित गृह मन्त्रालय लिएको थियो । पार्टी सभापति रवि लामिछानेनै नेतृत्व लिएर सरकारमा गएका थिए ।

उनको नागरिकता विवादमा सर्वोच्चले फैसला दिँदै सांसद पद खारेजी गरेपछि पार्टीले गृह मन्त्रालय गुमाएको थियो । यसैको विवादमा पार्टीले सरकार छाडेको थियो ।

अहिलेको सरकारमा गृह नपाउनेमा रास्वपा नेताहरू ढुक्क छन् । त्यकारण भौतिक मन्त्रालय अहिले रास्वपाको पहिलो रोजाइमा परेको छ । यस्तै शिक्षा, स्वास्थ्य वा श्रम मन्त्रालय पनि रास्पवा चाहन्छ ।

उसको रोजाइमा खेलकुद मन्त्रालय पनि परेको छ । यसपटक विराजभक्त श्रेष्ठ वा डीपी अर्यालकै नेतृत्त्वमा सरकारमा पठाउने विषयमा छलफल भए पनि निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्