प्रधानमन्त्री थ्री नेसन्स कप : भुटानको सामना गर्दै नेपाल

काठमाडौं, चैत १४ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको तेस्रो खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपाल र भुटान खेल्दै छन् । खेल साँझ ६ बजेदेखि शुरु हुनेछ ।

यस अघि सम्पन्न पहिलो खेलमा नेपालले लाओसलाई र दोस्रो खेलमा लाओसले भुटानलाई पराजित गरेका थिए । अब यस खेलको नतिजापछि फाइनलमा पुग्ने दुई टिमको टुंगो लाग्ने छ । नेपालले भुटानसँग कम्तीमा बराबरी खेलेमा पनि फाइनलमा पुग्ने छ भने भुटानका लागि फाइनलमा पुग्न फराकिलो जित अनिवार्य रहेको छ ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त खेलमा उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन् । यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन्, भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।

हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई पाँच सय अमेरिकी डलर प्रदान गरिने छ । उक्त प्रतियोगिताको पुरस्कार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदान गर्ने आयोजक एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्