प्रधानमन्त्री ओली राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै , यी हुन् भारत भ्रमणका उपलब्धि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आज साँझ स्वदेश फर्कन लाग्नुभएको हो ।

स्वदेश फर्कनुअघि ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ । त्यहाँ ओलीलाई मानार्थ विद्याबारिधिबाट विभूषित गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली गत शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा ५४ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै भारत जानुभएको थियो ।

भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट तथा सम्झौता गरेका ओली भ्रमण सकाएर साँझ स्वदेश फर्कन लाग्नुभएको हो । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार ओली नेपाल वायु सेवाको विमानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यी हुन् भारत भ्रमणका उपलब्धि
प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा मुख्यतः तीनवटा बेग्लाबेग्लै सम्झौताहरु भएका छन् । ती सम्झौताहरुमा एउटा हो –जलमार्गबाट सामान ओसार-पसार गर्ने सम्झौता । यही सम्झौतालाई लक्षित गर्दै भारतीय प्रधानमन्त्री मोदीले सगरमाथाको देश सागरसँग जोडिएको बताएका छन् ।

समुद्रमा नेपाली ध्वजाबाहक पानीजहाज चलाउने बताउँदै आएका प्रधानमन्त्री ओलीको सपनालाई साकार पार्नका लागि भारत सैद्धान्तिकरुपमा सहमत देखिएको छ । तर, यससम्बन्धी दुई बुँदे छोटो सम्झौतामा नेपाली ध्वाजाबाहक पानीजहाजबारे विस्तृतमा चर्चा गरिएको छैन ।

जलमार्गबाट सामान ओसार पसार गर्न भारतसँग समझदारी
प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा गरिएको अर्को लिखित सम्झौता हो –रक्सौल काठमाडौं जोड्ने रेल्वे लिंकसम्बन्धी सम्झौता । रेल्वे लिंक सम्बन्धी अलग्गै सम्झौता अन्तरगत जलपाईगुडी-काँकडभिट्टा, जोगवनी-बिराटनगर, नौतनवा–भैरहवा र रुपैडिया नेपालगञ्ज रेलमार्गलाई प्राथमिकतामा राखिएका छन् भने रक्सौलबाट काठमाडौं जोड्नेबारे दुबै देशका प्रधानमन्त्री सहमत छन् भन्ने मोटो सहमति भएको छ ।

एक वर्षभित्रै सर्वे सक्ने समझदारी
प्रधानमन्त्रीको भारत भ्रमणका बेला भएको तेस्रो लिखित समझदारी कृषि क्षेत्रसँग सम्बन्धित छ । ‘कृषिमा नयाँ साझेदारी’ नाम दिइएको यो समझदारीमा कृषि उत्पादन बढाउन प्रविधिको सहयोग आदान प्रदानका साथै अनुसन्धान, तालिम, पशुपालन, फार्मिङ, माटो परीक्षण आदि विषयहरुलाई समेटिएका छन् ।

पाइपलाइन र एकीकृत भन्सार
लिखित तीन सम्झौताबाहेक ओलीको भारत भ्रमणमा भएको अर्को काम भनेको मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको संयुक्त उदघाटन हो । ओली र मोदी दुबैले गरेको यो पाइपलाइनको शिलान्यासको विषयलाई १२ बुँदे संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

त्यसैगरी वीरगञ्जमा भारतले बनाएको एकीकृत भन्सार जाँच चौकी मोदीले औपचारिकरुपमा नेपाललाई हस्तान्तरण गरेका छन्, जुन ओलीको भारत भ्रमणको अर्को उपलब्धि हो ।

प्रतिक्रिया दिनुहोस्