मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुनजस्तो भएको छु- मन्त्री किराँती

काठमाडौं, चैत १३ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुनजस्तो भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित अमिन नेसनल म्युजिक अवार्डमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

मन्त्री किराँतीले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्र गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरेपनि झनै कामको चाप बढी हुने अनुभव गरेको टिप्पणी गरेका थिए ।

उनले मन्त्री बनेपछि आफू सिधा उठाएर हिँड्ने सोहश्राद्धको बाहुनजस्तो भएको भन्दै सबै काम हतार हतारमा गर्नु परेको प्रति क्षमा मागेका थिए ।

उनले भने- ‘म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु । मलाई लाग्थ्यो, सांसद हुँदाखेरि म धेरै सानोसानो काममा हिँड्थेँ । यतिसम्म कि मान्छेहरूको बसको टिकटमा समस्या समेत पुग्थेँ, अनि लाग्थ्यो, मन्त्री भएँ भने फुर्सद हुन्छ होला । ठूलोठूलो काम गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ, अलि फुर्सद हुन्छ होलाजस्तो लाग्थ्यो । तर, म मन्त्री भएको ६५ दिन हाराहारी हुँदै छ । लाग्छ, म त सोह्रश्राद्धको बाहुनजस्तो भएँ । हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने । त्यसको निम्ति म क्षमाप्रार्थी छु ।’

प्रतिक्रिया दिनुहोस्