आईपीएल : दुई वर्षपछि फर्किएको चेन्नइको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिगको पहिलो म्याचमा चेन्नई सुपर किंग्सले रोमाञ्चक जित हासिल गरेको छ ।

शनिबार प्रतियोगिता कै पहिलो खेलमा चेन्नईले साविक विजेता मुम्बई इन्डियन्सको मुखबाट जित खोसेको हो । प्रतिबन्धका कारण अघिल्ला दुई वर्ष आइपिएलबाट बाहिरिएको चेन्नईले ११ औं संस्करणमा आफ्नो रवाफ देखाएको छ ।

चेन्नईको जितमा वेस्टइन्डिजका अलराउन्डर ड्वेन ब्राभो नायक बने । उनले विस्फोटक ब्याटिङ गर्दै ३० बलमा ६८ रन बनाएपछि चेन्नई जितको नजिक पुगेको थियो ।

मुम्बईले पहिलो ब्याटिङ गर्दै चेन्नईलाई १६६ रनको लक्ष्य दिएको थियो । चेन्नईको ब्याटिङ सुरुवातमा राम्रो रहेन । ५० रन बनाउँदा टिमका चार विकेट गुमिसकेको थियो । त्यसपछि पनि ब्याटिङमा साझेदारी जम्न सकेको थिएन । १७ ओभर पुग्दासम्म चेन्नईले म्याच सुम्पिसकेको अवस्था थियो । चेन्नई ११८ रनको अवस्थामा आठ विकेट गुमाइसकेको अवस्थामा थियो । तर मुम्बईको जित र चेन्नईको हारकोबीचमा ब्राभो मैदानमा थिए, जो नतिजा आफ्नो पक्षमा ल्याउन संघर्ष गर्दै थिए ।

उनले १८ र १९ औं ओभरमा आक्रामक ब्याटिङ गरे । १९ ओभरको समाप्तिमा ब्राभो कै ब्याटिङको मद्दतमा चेन्नईले १५९ रन बटुल्यो । अन्तिम ७ बलमा ७ रन नै आवश्यक रहेको अवस्थामा ब्राभो बाहिरिए ।

‘रिटायर्ड हर्ट’ भएर मैदान बाहिरिएका केदार जाधव अन्तिम आशा बोकेर मैदानमा प्रवेश गरे । उनले अन्तिम ओभरको चौथो बलमा शानदार छक्का प्रहार गरे । पाँचौं बलमा कलात्मक चौका प्रहार गर्दै उनले टिमलाई जित दिलाए ।
आईपीएलमा आइतबार बेलुकी दिल्ली डेयरडेभिल्स र किङ्स एलाभेन पञ्जाव खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्