बागमती सरकारमा सामेल एमालेका ४ मन्त्रीले दिए सामूहिक राजीनामा
काठमाडौं, चैत १० । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।एमालेबाट मन्त्री बनेका ४ जनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजीनामा बुझाएका छन् ।
अर्थमन्त्री जगन्नाथ थपलिया, श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेलले राजीनामा दिएका हुन् । थपलिया २६ पुसमा अर्थमन्त्री नियुक्त भएका थिए । अन्य ३ मन्त्री ११ माघमा नियुक्त भएका थिए ।
यस्तै, मुख्यमन्त्री जम्मकट्टेललाई नेपाली कांग्रेससहितका ४ राजनीतिक दलले विश्वासको मत दिने भएका छन् ।
माओवादीसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन बताइएको छ ।
यता एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले भने विपक्षमा मत दिने निर्णय गरिसकेका छन् ।
हाल बागमती प्रदेशमा माओवादीमा २१, कांग्रेसको ३७, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट । जम्मा प्रदेश सभामा ११० संसद छन् ।
विश्वासको मत दिने कार्यक्रम केही बेरमा सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्