बिहे नगर्ने युवायुवती ७९ लाख ३५ हजार, नेपालमा आमासँग मात्रै बस्छन् १७ प्रतिशत बालबालिका
काठमाडौं, चैत १० । नेपालमा बिहे गर्ने उमेर समूहका ७९ लाख ३५ हजार युवायुवती अविवाहित छन्।
शुक्रबार राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनअनुसार २० वर्षमाथिका ७९ लाख ३५ हजार ९७८ युवायुवती अविवाहित छन्।
बिहे नगर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी छ। प्रतिवेदनअनुसार ४४ लाख २ हजार ९ सय ६२ जना पुरुष अविवाहित हुँदा अविवाहित अविवाहित महिलाको संख्या ३५ लाख ३३ हजार ३६ रहेको छ।प्रतिवेदनअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।
नेपालमा आमासँग मात्रै बस्छन् १७ प्रतिशत बालबालिका
नेपालमा १७ दशमलव १ प्रतिशत बालबालिका आमासँग मात्रै बस्ने गरेको देखिएको छ।
राष्ट्रिय जनगणनाबाट १७ दशमलव १ प्रतिशत बालक र १७ दशमलव १ प्रतिशत नै बालिकाहरु आमासँग बस्ने गरेको देखिएको हो।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार ७७ दशमलव ९ प्रतिशत बालबालिका आमाबुबा दुवैसँग बस्ने गरेकाे पाइएको छ। बुबासँग मात्रै बस्ने बालबालिकाको स्थिति भने १ दशमलव ०३ प्रतिशत देखिएको छ।
सौतेनो बाबु तथा सौतेनी आमासँग बस्ने बालबालिकाको संख्या भने शून्य दशमलव तीन प्रतिशत देखिएको छ।
अन्य नातेदारसँग बस्नेको संख्या ३ प्रतिशत, रोजगारदातासँग बस्ने शून्य दशमलव ०३ प्रतिशत, अन्य शून्य दशमलव ५ प्रतिशत र कोसँग बसेको छ भन्ने नै थाहा नभएको भने शून्य दशमलव १ प्रतिशत रहेको पाइएको छ।














प्रतिक्रिया दिनुहोस्