मन्त्रालय भागबन्डामा प्रधानमन्त्री प्रचण्डलाई सकस
काठमाडौं, चैत ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट दोस्रो पटक विश्वासको मत लिएसँगै मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेका छन् ।
एक/ दुई दिनभित्रै सरकारलाई पूर्णता दिने गरी छलफल अघि बढेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
१६ मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै काँधमा छ। तापनि, उनले मन्त्री नियुक्त गरेर जिम्मेवारी सुम्पिन सकेका छैनन्।
करिब तीन महिनामा दोस्रोपटक हालै विश्वासको मत लिएका दाहालले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन दल धेरै र मन्त्रालयको संख्या थोरै भएपछि भागबन्डामा सकस देखिएको छ।
कांग्रेसले १०, माओवादीले प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपा ३/३, लोसपा र जनमतले २/२, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीले एक–एक मन्त्रालय दाबी गरिरहेका छन्। यस्तै रास्वपाले २ नागरिक उन्मुक्ति र जनमोर्चाले १/१ मन्त्रालय दाबी गरिरहेका छन्।
तर, बुधबार बसेको गठबन्धनको बैठक १० दलको आकांक्षा बुझ्न मात्रै केन्द्रित रह्यो। बैठकमा सबै दलको आकांक्षा बुझ्ने काम भएको माओवादी महासचिव देव गुरुङले बताए।
पहिला साना दलको आकांक्षा बुझेपछि मात्र ठूला दलका विषयमा चर्चा हुने उनको भनाइ छ । यता कांग्रेस महामन्त्री गगन थापाले विश्वासको मत दिने दलको संख्या र सरकारमा जान चाहेका दल धेरै भएका कारण मन्त्रिपरिषद् विस्तारमा समस्या सिर्जना हुन सक्ने बताए।
गठबन्धनमा सहभागी दल धेरै रहेकाले मन्त्रिपरिषद् विस्तार एकदमै गाह्रो देखिएको थापाले बताए।कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीबाट कसलाई पठाउने भन्ने विषय नटुंगिएकाले कुन मन्त्रालय कसको भागमा भन्न सकिने अवस्था नरहेको बताए।
यति बेला १० दलले सहमतिको जगमा टेकेर त्यहीअनुरूप मन्त्रिपरिषद् गठन गर्नुपर्ने चुनौती देखिएको छ।















प्रतिक्रिया दिनुहोस्