नेपाल डिभिजन २ मा झर्यो

काठमाडौं । हङकङविरुद्ध विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपका दुई खेलमा विपरित नतिजा आत्मसातसंगै नेपाल डिभिजन २ मा झरेको छ ।

डब्लूसिएल च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने सम्भावनालाई बलियो बनाउने लक्ष्य सहित हङकङ पुगेको नेपाली टोलीले शुक्रबारको पहिलो खेल ८३ रनले हार व्यहोरेको थियो ।

आजको लागि सारिएको खेल पनि रद्द भएपछि अब हुने संयुक्त अरब इमिरेट्स (युइए) सँगको दुवै खेल जित्दा पनि नेपाल शीर्ष ४ मा नपर्ने भएपछि डिभिजन २ मा झरेको हो । डब्लूसिएलका शीर्ष ४ टोली विश्व कप छनोटमा पुग्नेछन् भने पुछारका ४ टोली डिभिजन २ मा झर्नेछन् ।

आइतबार समुन्द्रिक आधि (टाइफुन) र वर्षाका कारण खेल हुन नसकेपछि रिजर्भ डे सोमबारका लागि खेल सारिएको थियो । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलमा ९ अंक जोड्दै छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको हङकङले १२ खेलमा १४ अंक जोडेको छ ।

घटुवा भएपछि पनि विश्व कप छनोटमा पुग्ने नेपालको सम्भावना भने अझै बाँकी रहेको छ । नेपालले अब फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ खेल्नेछ । डिभिजन २ को शीर्ष २ टोलीले विश्व कप छनोटमा प्रवेश पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्