कंगोमा विद्रोहीको आक्रमणबाट २१ जनाको मृत्यु

काठमाडौं, चैत ७ ।  अफ्रिकी देश कंगोमा यहाँको विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।

प्राप्त समाचारअनुसार कंगोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र विद्रोहीहरूले हमला गरेका थिए । उनीहरूले गत शनिबार यी दुई प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका छन् ।

इतुरीको एक गाउँमा उनीहरूले एक गाउँका सर्वसाधारणमाथि गोली चलाएका थिए । रातिको समयमा आएका सशस्त्र समूहका सदस्यले गरेको हमलामा परेर कम्तीमा पनि १० जना सर्वसाधारणको ज्यान गएको हो ।

त्यस्तै उत्तरी किभुमा पनि उनीहरूले गाउँलेमाथि हमला गरेका थिए । ती हमलामा परेर सर्वसाधारण मारिएका छन् । इतुरी र यस आसपासका गाउँमा भएको हिंसात्मक आक्रमणमा परेर ११ जना सर्वसाधारण मारिएका बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका सहायक प्रवक्ता फराह हकले सो कुराको जानकारी दिएका हुन् ।

उनले पछिल्ला केही हप्तामा पूर्वी कंगोेका कैयौँ स्थानमा यहाँको सरकारसँग विद्रोह गरेको समूहले सर्वसाधारणमाथि हमला गर्ने गरेको छ । यहाँ संयुक्त राष्टसंघीय मिसनले शान्ति स्थापनाका लागि प्रयास गरेको भएपनि हिंसाको अन्त्य हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्