सरकार बनाउने र भत्काउने खेलले देश समृद्ध बन्दैनः अध्यक्ष केसी
काठमाडौं, चैत ६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन्।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिले यही प्रणाली चलाउन नै नसक्ने भएको बताए।
उनले सरकार संसदको ठूलो पार्टी र ठूलो पार्टीले नसके दोस्रो ठूलो पार्टीले सरकार बनाउनुपर्नेमा तेस्रो पार्टीलाई बोकेर हिँड्नु शर्मनाक रहेको उल्लेख गरे। उनले सरकार बनाउने र गिराउने खेती भइरहेको भन्दै लोकतन्त्र र गणतन्त्र जोगिन नसक्ने स्पष्ट पारे।
उनले भने, ‘२ महिना अघि सबैले विश्वासको मत दिने हुटहुटी थियो। आज फेरि यस्तै छ। यसमा हामीलाई जनताले के भन्ने हुन्? अचम्म लागेको छ। हाम्रो निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने स्थिति देखिँदैन। सरकार भत्काउने, बनाउने देखिएको छ। अब पनि यही हो। संसदीय प्रणालीलाई स्वीकार गरेका छौँ तर चलाउनै नसक्ने भयौँ। संसदभित्र भएको ठूलो पार्टीले सरकार बनाउनुपर्ने हो की होइन, पहिलोले नसकेपछि दोस्रो पार्टीले बनाउने होइन, तर तेस्रो पार्टीलाई समात्दै हिँड्ने? जनतालाई के भन्नुहुन्छ? हाम्रो लडाईं यसपछि यो यसपछि यसको सरकार बनाउने र गिराउने भन्ने खेती भएको छ।
यसबाट लोकतन्त्र र गणतन्त्र जोगिन्छ? जनतालाई आश्वासन दिलाउन सक्नुहुन्छ? महंगी कस्तो छ? यतातिर सोच्नुपर्दैन। सत्ता र शक्तिको लागि एकले अर्कोलाई खसाल्ने र आफू राम्रो बन्नेकुराबाट जनतालाई राम्रो हुँदैन। प्रधानमन्त्री पुरानै गठबन्धनमा फर्किएकाले राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ।’
अध्यक्ष केसीले सत्ता र स्वार्थका लागि मात्रै लड्न नहुने बताए। आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनेपनि स्पष्ट पारे।















प्रतिक्रिया दिनुहोस्