प्रचण्ड, देउवा र माधव नेपालबीच विश्वासको मतबारे संवाद

काठमाडौं, चैत ३ ।   उपराष्ट्रपतिको निर्वाचनलगत्तै विश्वासको मत लिन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका शीर्ष नेतासँग संवाद गरेका छन् ।

उपराष्ट्रपतिका लागि मतदान गर्न बानेश्वर पुगेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् ।

कांग्रेस नेता रामहरि खतिवडाका अनुसार तीन नेताबीच बानेश्वरको संसद् भवन परिसरमा विश्वासको मतको विषयमा छलफल भइरहेको हो ।

‘उपराष्ट्रपति निर्वाचनको एक दुईदिनमै प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गर्नुभएको छ,’ खतिवडाले भने, ‘यसैको तयारीका लागि प्रधानमन्त्री, कांग्रेस सभापति र समाजवादीका अध्यक्षबीच छलफल भएको हो ।’

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो ।

यी तीन दल सरकारबाट बाहिरिए पनि सबैभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत यसअघि नै दिएकाले प्रधानमन्त्रीसँग बहुमत कायम छ । तर, संविधानअनुसार सरकारमा सहभागी कुनै दल बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्रीलाई कांग्रेस, माओवादी, जसपा, नेकपा एस, लोससा, जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलको साथ छ ।

विश्वासको मत लिएलगत्तै प्रधानमन्त्रीले सरकार पुनर्गठनको तयारी पनि गरेका छन् । प्रधानमन्त्रीले १० चैतसम्ममा विश्वासको मत लिएर सरकार विस्तार गर्ने तयारी गरेका हुन् । अहिले प्रधानमन्त्रीसँग १६ वटा मन्त्रालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्