मोदीसँगकाे संयुक्त पत्रकार सम्मेलनमा ओलीले भने–चुनावपछि नेपाल समृद्धितर्फ अघि बढ्यो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावपछि नेपाल आर्थिक समद्धिको दिशार्फ अघि बढेको बताएका छन् । भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीले नेपाल चुनावको सम्पन्नतासँगै समृद्धिको दिशामा अघि बढेको बताएका हुन् ।
आफू नेतृत्वको सरकारको साझा उद्देश्य नै समृद्धि भएको बताउँदै ओलीले नेपाल लगानीको लागि उपयुक्त वातारण भएको पनि बताए । भारतीय निजि तथा पब्लिक कम्पनीलाई नेपालका जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गर्दै ओलीले कतिपय आयोजना भारतीय लगानीमा बन्दै गरेको पनि सो क्रममा बताए ।
यस्तै सीमा क्षेत्रमा हुने आतंकवाद र अपराध न्यूनीकरणका सवालमा नेपाल गम्भीर रहेको बताउँदै ओलीले सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि दुबै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनका क्रममा ओलीले नेपाल भूपरिवेष्ठित देश नभएको बताउँदै बरु ‘ल्याण्डलिंक्ड’ देश भएको बताए। अहिलेकाे अवस्थामा नेपाल जलमार्गमा पनि जोडिन सक्ने उनको भनाई थियो ।
अर्को प्रसंगमा ओलीले काठमाडौं–रक्सौल रेलमार्ग विस्तारमा भारतले सहयोग गर्ने बताएकोमा खुसी व्यक्त गरे । ओली अघि पत्रकार सम्मेलनलाई सम्बोधन गरेका मोदीले काठमाडौं रक्सौल रेलमार्ग भारतले बनाउने बताएका थिए ।
यस्तै उनले आफूलाई भारतमा भएको न्यानो स्वागतको लागि मोदीलाई धन्यवाद समेत दिए ।
ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उपयुक्त समयमा नेपाल भ्रमणमा आउन निमन्त्रणा समेत दिए ।
प्रतिक्रिया दिनुहोस्