रासायिनक मलको मूल्य, युरिया मल प्रतिकिलो ११ रुप्रया वृद्धि, किसान मर्कामा

काठमाडौं, २९फागुन । सरकारले रासायनिक मलको मुल्य वृद्धि गरेको छ । सरकारले मलमा दिंदै आएको अनुदान कटौती गरेपछि मुल्यमा वृद्धि भएको हो । अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकको भन्दा महँगो हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलकाअनुसार २६ फागुन अघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महँगो हुने छ ।

बढेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो किसान मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ । यस अघि १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास किन्न पाइन्थ्यो ।

सरकारले रासयानिक मलमा किसानलाई दिंदै आएको अनुदान घटाउने नीति लिएअनुसार सरकारले दिने अनुदान घटाउँदा किसानलाई बेच्ने मूल्य बढेको मन्त्रालयले जनाएको छ ।

२६ फागुन अघि मलमा समग्रमा ७० प्रतिशत किसान अनुदान रहेकामा त्यसलाई कटौती गरेर ५९।४ प्रतिशतमा झारिएको मन्त्रालयले जनाएको छ । ११।७८ प्रतिशतले अनुदान कटौती गर्दा किसानलाई मलको खरिद लागत बढेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार युरिया मलको अनुदान ८०।११ प्रतिशतबाट घटाएर ६४।४९ प्रतिशत कायम गरिएको छ । यस्तै डीएपी मलको अनुदान ५९।४ प्रतिशतबाट घटाएर ५२।३८ प्रतिशतमा सीमित गरिएको छ भने पोटासमा दिंदै आइएको ५८।२ प्रतिशत अनुदानलाई घटाएर ४६।०९ प्रतिशत कायम गरिएको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले मल माथिको परिनिर्भरता बढ्दै गएको भन्दै सरकारी लागत कम गर्न अनुदान घटाउन दिएको निर्देशनका आधारमा मलको मूल्य बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । बढेको मूल्यमा मलको बिक्री र बजार अनुगमनका लागि मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह समेत गरेको छ । यसले किसानलाई थप मर्का पर्ने भएको छ । यो वर्तमान सरकार किसानप्रति अनुद्धार भएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्