सम्झौताअनुसारको काम नगरे टुलुटुलु हेरेर बस्न सकिँदैन : मन्त्री श्रेष्ठ
काठमाडौं, फागुन २८ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुने गरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् ।
आज (आइतबार काठमाण्डौमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरूले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले निर्माण व्यवसायीहरूले सम्झौताअनुसारको काम नगरेर उपेक्षा गरेका भए आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । उनले काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने बताए ।
उनले भने, ‘१० वर्ष अगाडि बिड गर्ने एउटा पुलको एउटा पिल्लर खडा गरेर बस्न मिल्छ ? राजधानीकै अगाडि यही टेकुमा एउटा पुल छ, जो क्राइटीस्मा मेल खाँदैन, त्यसलाई बुझाउन खोज्न मिल्छ ? सरकारले लिन मिल्छ ? बाटाघाटा बुझाउन नपाइकन पर्सिदेखि टाल्नुपर्ने स्थिति हुन्छ । त्यो मिल्छ ?’
उनले थपे, ‘मैले भनेको हामी सबै मिलेर गरौँ न । मलाई त अहिले निद्रा लाग्दैन । तपाईहरूलाई भुक्तानी पनि दिन नसक्दा, फाइल पेन्डिङ भयो, न्यायोचित छ भने किन समय लगाइदिने ? किन तुरुन्तै नगर्ने ? राज्यले दुःख दिन पाए, लम्ब्याइदिन पाए, अलि अलि के–के, के–के गर्न पाए भनेर हुन्छ र ? राज्य, सरकारले त जिम्मेवारीबोध गरेर विलम्ब नगरिकन नियमसङ्गत हुने काम छिटोछिटो गरिदिनुपर्यो नि । त्यसमा जे कमजोरी भएको छ, त्यसलाई सच्याइन्छ । राज्यलाई, राष्ट्रलाई, नागरिकलाई नोक्सानि हुने गरी निर्माण व्यवसायीले गरेका उपेक्षा छन् भने त्यसलाई पनि म टुलुटुलु हेरेर बस्न सक्दिनँ । आवश्यक कारबाहीको प्रक्रियामा जानेछु ।’
मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरूसँग ठेक्का रद्द गर्न सक्नेतर्फ पनि सचेत गराए । उहाँले निर्माण व्यवसायीहरूलाई परेको समस्या समाधानका लागि आफू जुन कुनै मन्त्रालयसँग समन्वय गर्ने भन्दै निर्माण व्यवसायीहरूले पनि जिम्मा लिएको काम सम्झौताअनुसार समयमै पूरा गर्ने सङ्कल्प गर्नुपर्ने बताए ।
मन्त्री श्रेष्ठले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु, पुँजीगत खर्चको वृद्धि र व्यापार घाटा न्यूनीकरण गर्नु सरकारको कार्यभार रहेको बताए । उनले निर्माण व्यवसायीहरूलाई आफ्नो निवासमा नभेट्ने भन्दै कसैको उपेक्षा नगरेको बताए । उनले व्यवसायीहरूसँग मन्त्रालयमा सामूहिकरूपमा मात्रै भेट्ने गरेको स्पष्ट पारे । मन्त्री र निर्माण व्यवसायीहरू मिलेर काम गर्नुपर्ने तर मिलेमतो गर्न नहुने उनको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्