सी चिनफिङ बने तेस्रो पटक चीनको राष्ट्रपति
काठमाडौं, फागुन २७ । सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन भएका छन् ।
शुक्रबार बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा ६९ वर्षीय सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोग(सीएमसी)को अध्यक्षमा चयन गरेको हो ।
चिनियाँ संसद्का रूपमा रहेको जनकंग्रेसका करिब ३ हजार सदस्यले सीलाई सर्वसम्मत रूपमा राष्ट्रपति चयन गरेका हुन् ।
तेस्रो पटक राष्ट्रपति चयन भएसँगै सीलाई माओ त्से तुङपछि चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेरिएको छ ।
अहिले चुनावी प्रक्रिया अपनाइए पनि सी राष्ट्रपतिमा निर्वाचित हुने भने पहिले नै तय भइसकेको थियो ।सन् २०१८ मा संविधानमा २ कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने प्रावधान संशोधन गरिएपछि सीलाई तेस्रो पटक राष्ट्रपति बन्ने ढोका खुलेको हो ।
सी पहिलोपल्ट मार्च, २०१३ मा चीनको राष्ट्रपति बनेका थिए । त्यसपछि सन् २०१८ मा उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् ।राष्ट्रपति बन्नका लागि कार्यकालको कुनै सीमा नराखिएकाले सी कहिलेसम्म चीनको राष्ट्रपति बन्छन् भन्ने विषय उनमै निर्भर रहने भएको छ ।
सोमबार सीले संसद्मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्