प्रचण्डविरुद्धको रिटको पेसी न्यायाधीश खतिवडाको एकल इजलासमा

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ ।

यो मुद्धालाई आज सर्वोच्चमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेसी तोकिएको छ ।

यस अघि बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको सो रिटको पेसी आज तोकिएको हो ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखे पछि आजका लागि सारिएको हो ।

उनीमाथि पाँच हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर गत मंगलबार मुद्दा दायर भएकोमा आज त्यसमाथि सुनुवाइ हुने भएको हो।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्धकालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर रामेछापका ज्ञानेन्द्रराज आरणसहितका पीडितले मुद्दा दायर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्