जजिराले भैरहवाबाट फेरि थाल्यो उडान

काठमाडौं, फागुन २५ । जजिरा एयरवेजले भैरहवाबाट पुनः उडान सुरु गरेको छ। मौसम कारण देखाउँदै पुस ६ गतेदेखि रोकेको उडान जजिराले बिहीबारदेखि पुनः निरन्तरता दिएको हो।

६६ यात्रु लिएर बिहान ७ बजेर १५ मिनेटमा जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। बिहान ८ बजेर १५ मिनेटमा जहाज ९३ यात्रु लिएर कुवेतका लागि उडेको विमानस्थलका निमित्त महाप्रबन्धक सुवास झाले जानकारी दिए।पुनः उडान सुरु गरेको जजिराले कुवेतका लागि सातामा ३ पटक उडान गर्ने छ।

नेपाली समयानुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८:०५ बजे उडान भर्ने तालिका छ। कुवेतमा स्थानीय समयानुसार बिहान १०:५५ बजे अवतरण गर्ने छ। साथै जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८ सय ३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडान भाडा कायम गरेको समेत जनाएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै गत जेठ २ गतेदेखि भैरहवाबाट उडान सुरु गरेको जजिराले पुसमा मौसमका कारण देखाउँदै उडान रोकेको थियो।

प्रतिक्रिया दिनुहोस्