गलत अभ्यासले संसद र सरकारले प्रभावकारी रुपमा काम गर्न सकेन : अध्यक्ष तिमिल्सिना

काठमाडौं, फागुन २४ ।  राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद र सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन् ।

बुधवार पारिवारिक निजी वन संघ नेपालको ९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दलहरु आफू ठिक ढंगले नचल्ने तर दोष संविधान, कानून र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने बताए ।

सरकार अप्ठयारोमा पर्दा संसद विघटन गर्नेकुरा संसारभरको अभ्यास भएकाले नौलो मान्नु नपर्ने बताए । उनले नेपालमा विगतमा पटकपटक संविधान विघटन भएकाले संविधानमै विघटन नै नगर्ने कुरा उल्लेख हुँदा संसदबारे अहिले बिरोधाभाष भइरहेको बताए । उनले सरकार सञ्चालन गर्नेहरुले ढंग पुर्याएर संसद चलाउन नसक्ने तर कागजलाई दोष दिएर उम्किन खाजेको आरोप लगाए ।

उनले सरकारले केही गर्न नसक्ने अवस्था सिर्जना हुँदा संसद विघटन गरी जनतामा जाने कुरालाई राजनीतिक दलहरुले नै अन्देखा गर्ने गरेको बताए । उनले केही राजनीतिक दलहरुले संसद विघटन नगर्ने कुरालाई सबैभन्दा ठूलो क्रान्तिकारी र परिवर्तनगामीका रुपमा लिइरहेको बताए ।

अध्यक्ष तिमिल्सिनाले सरकारले केही गर्न नसकेपछि संसद विघटन गरेर निर्वाचनमा जाने कुरा गर्दा भागबण्डा गर्ने, पार्टी फुटाउने, पार्टी फुटाउन अध्यादेश ल्याउने, मन्त्री बाँड्ने र जनतामा जाने कुरालाई बेवास्ता गर्ने गरेको बताए । उनले राजनीतिक दलहरुले आफ्नो बानी सुधार नगरेसम्म परिवर्तनको नारा लिएर मात्रै कतै नपुग्ने दाबी गरे ।

उनले देशको परिवर्तन भाषणामा मात्रै सिमित भएको उल्लेख गर्दै देशको सामान्य नागरिकले अझै सुशासनको अनुभुति गर्न नसकेको दाबी गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा समस्या परेको बेलामा सहजीकरण गर्ने नभइ झनै अल्झाएर राख्ने परिपाटी हाबी हुँदै गएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दासमेत सुशासन दिन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्