प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि राजीनामाको चर्चा, सचिवालय के भन्छ ?

काठमाडौं, फागुन २४ ।  नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता भएपछि राजनीतिक वृत्त तरंगित बनेको छ ।

प्रधानमन्त्री प्रचण्डले तीन वर्ष पहिले एक सार्वजनिक कार्यक्रममा प्रचण्डले जनयुद्धकालमा हत्या गरिएका मध्ये पाँच हजारको जिम्मा लिने भन्दै दिएको अभिब्यक्तिलाई लिएर द्धन्द्ध पीडितहरुले मंगलबार सर्वोच्च अदालतमा मुद्धा दर्ता गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि नैतिकताको आधारमा राजीनामाको चर्चा समेत चुलिएको छ । व्यक्ति हत्याको मुद्दा दर्तापछि प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठेको भन्दै राजीनामा दिनुपर्ने आवाजसमेत उठेको छ ।

यता संक्रमणकालीन न्यायको सिद्धान्त विपरीत द्धन्द्धकालीन मुद्दामा व्यक्तिगत तवरले आरोपित गरेर मुद्दा दर्ता गरिएपछि माओवादी केन्द्रले विरोध जनाएको छ । माओवादी केन्द्र लगायत अन्य विभाजित माओवादी घटकहरुले संयुक्त रुपमा आपत्ति जनाइसकेका छन् ।

माओवादीका विभाजित आठ घटकहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगले टुग्याउनुपर्ने द्धन्द्धकालीन मुद्धा शान्ति सम्झौता विपरीत व्यक्ति हत्याको आरोपमा प्रचण्डविरुद्ध मुद्दा चलाइएकोमा आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री माथि व्यक्ति हत्याको अभियोग लागिसकेपछि पदबाट राजीनामा दिनुपर्ने तर्क गरिरहँदा प्रतिशोधपूर्ण तवरले दायर गरिएको मुद्दाकै आधारमा राजीनामा दिने अवस्था नआएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल बताउँछन् ।

गजुरेलले भने, ‘बाहिर विरोधीहरुले चलाएको हल्ला हो त्यस्तो कुनै तयारी छैन ।’

उनले विस्तृत शान्ति सम्झौता र संविधानले स्वीकार गरिसकेको विषयलाई अतिरञ्रजनापूर्ण तवरले द्धन्द्धकालीन मुद्दालाई उचालिएको आरोप लगाए ।उ

सत्य निरुपण तथा मेलमिलाप आयोगले टुंग्याउनुपर्ने विषय व्यक्तिगत रुपमा अदालतमा लगाइनु समग्र शान्ति प्रक्रियामाथिको हस्तक्षेप भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले यही विषयलाई लिएर राजीनामा दिन आवश्यक नभएको र त्यसको कुनै तयारीमा नरहेको सल्लाहकार गजुरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्