सांसद भण्डारी अझै केही दिन अस्पतालमै रहने
काठमाडौं, फागुन २४ । प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको उनका नातेदारले बताएका छन् । सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ ।
उनलाई अहिले ठोस खानेकुरा समेत दिइएको छ । राम्रोसँग बोलचाल पनि गरिरहेको अस्पताल परिसरमा रहेका उनका दाजु मीनप्रसाद भण्डारीले बताए ।
उनलाई दिइएको अक्सिजनको मात्रा घटाइएको मीनप्रसादले जानकारी दिए । “सुधार हुँदै गएको छ । मुहारमा राम्रो सुधार भएको छ । खाने, बोल्ने राम्रोसँग भइरहेको छ । अक्सिजनको मात्रा घटाइएको छ,” उनले भने, “अपरेसन गरिएको भागमा एक दिन बिराएर ड्रेसिङ गरिन्छ । आज ड्रेसिङको दिन हो । ड्रेसिङपछि घाउको अवस्थाका बारेमा थाहा हुन्छ ।” आगोले पोलेको भागमा केही दिनअघि उनको हातखुट्टाको अपरेसन गरिएको थियो ।
उनका अनुसार सांसद भण्डारीलाई उक्त अस्पतालमा भर्ना गरिएको आज २१औँ दिन हो । अस्पताल बसाइ अझै केही दिन लम्बिने उनले बताए । पछिल्लोपटक यही फागुन १६ गते उनको दायाँ हात र बायाँ हातको केही भाग तथा औँलाको अपरेसन गरिएको थियो ।















प्रतिक्रिया दिनुहोस्