ओलीको रणनीति : राष्ट्रपति चुनावपछि कांग्रेससँगै सत्ता सहकार्य
काठमाडौं, फागुन २३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको गठबन्धन टुटेपछि कांग्रेससँग नयाँ गठबन्धन गरेर जाने रणनीतिमा केपी शर्मा ओली देखिएका छन् ।
जसरी पनि एमालेको राष्ट्रपति बनाउन लागिपरेका उनी कांग्रेसलाई प्रधानमन्त्री दिएर जान सकिने रणनीतिमा अघि बढेका हुन् ।
‘देउवाले पनि राष्ट्रपतिमा उपयुक्त पात्र भएको बताउनुभयो । जिम्मेवार राजनीतिक दल एक ठाउँमा उभिनु पर्दछ भन्नेमा उहाँ पनि सहमत हुनुहुन्छ,’ सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले गरेको भेटको संवाद एक नेताले मध्यान्हलाई सुनाए । लोकतन्त्रको रक्षा गर्ने सन्र्दभमा कांग्रेस र एमालेबीच तालमेल हुनुपर्नेमा नेम्वाङको जोड छ ।
एमाले र माओवादीको सहकार्यमा गत मंसिरमा प्रधानमन्त्री र राष्ट्रपति भागबण्डा सहित सरकार गठन भएको थियो । तर, माओवादीले एमालेलाई सभामुख र राष्ट्रपति दिन नहुने भन्दै सरकारबाटै मन्त्रीहरु हटाउने तयारी गरेको थियो । पछि एमालेका सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ मन्त्रीहरु पनि फिर्ता बोलाएको थियो ।
यद्यपि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने पुरानै गठबन्धन कायम रहने दाबी गर्दै आएका छन् । राष्ट्रिय सहमतिमा कांग्रेसलाई राष्ट्रपति दिएर वामलोकतान्त्रिक गठबन्धनलाई आगामी ५ वर्षसम्मै लैजानुपर्ने उनको भनाइ छ । उनीमात्रै होइन, राष्ट्रपतिका उम्मेद्वार रामचन्द्र पौडेल, नेता शेखर कोईराला, महामन्त्री गगन थापाले पनि पुरानै गठबन्धन अघि बढाउनुपर्ने दाबी गरेका छन् । सोही निर्णयबमोजिम पछिल्ला दिनमा ८ दलीय गठबन्धन अघि बढेको छ ।
‘कांग्रेस र एमाले मिलेर सरकार बन्ने सम्भावना देखिन्छ, देउवालाई प्रधानमन्त्री र आफूले राष्ट्रपति लिने रणनीतिमा ओली लागेको छन्,’ राजनीतिक विश्लेषक डा. राजेश अहिराजले भने ।
उनले एमाले र कांग्रेसबीच सहकार्य हुने बलियो सम्भावना देखिएको पनि दाबी गरेका छन् । देउवालाई धोका दिएर ओलीसँग र ओलीलाई धोका दिएर देउवासँग सहकार्य गरेका प्रचण्डलाई प्रधानमन्त्री दिन नहुने एमालेका नेताले बताउँदै आएका छन् ।
अझ ओलीले पनि आफ्ना नजिकका व्यक्तिहरु बढाएर एमाले कांग्रेस सहकार्य आवश्यक रहेको बताउँदै आएका छन् । एकातिर ओली प्रचण्डसँगको गठबन्धन टुटाउने रणनीतिमा देखिएका छन् भने अर्कातिर कांग्रेससहितको ८ दलीय गठबन्धनलाई अघि बढाउने रणनीतिमा प्रचण्ड छन् ।















प्रतिक्रिया दिनुहोस्