राहदानी विभागको ‘सर्भर डाउन’, सेवाग्राहीलाई सास्ति

काठमाडौं– राहादानी विभागको सर्भर डाउन हुँदा सेवाग्राहीलाई सास्ति भएको छ। सर्भर डाउन हुँदा त्रिपुरेश्वरमा रहेको राहदानी विभागको गेटमा लामो लाम छ।

दिउँसोको टन्टलापुर घाम सेवाग्राही सास्ति खेप्न बाध्य छन्। सरकारी कार्यालयमा सेवा लिन जानेहरूले कागजात र प्रमाण देखाएर मात्रै गेटभित्र छिर्न पाइरहेका छन्।

वैदेशिक रोजगारीको लागि बाहिर जानुपर्ने नागरिकले सेवा लिने ठाउँमा सर्वर डाउन हुँदा सेवाग्राही समस्यामा परेका छन्। ‘बिहानै १० बजे आएको हुँ, अहिलेसम्म सर्भर डाउन छ, कतिबेला बन्छ कुनै टुंगो नै छैन,’ एक सेवाग्राहीले भने।

विभागको सर्भर डाउन हुँदा समयमै पासपोर्ट पाइँदैन। काटिसकेको जहाजको टिकट नै क्यान्सिल गर्न बाध्य हुन्छन् सेवाग्राही। अनपेक्षित रुपमा हुने यस्तो समस्याको मार कति सेवाग्राहीले खेपे अहिलेसम्म भन्ने विभागसँग कुनै रेकर्ड छैन। उल्टै, त्यहाँका कर्मचारी पनि यस विषयमा संवेदनशील हुनुपर्नेमा टिकट क्यान्सिल गर भनेर सल्लाह दिन्छन्।

राहदानी अर्थात् पासपोर्ट सम्बन्धी सेवा लिन आउनेहरु यही गेट भएर भित्र छिर्नुपर्छ। तर एक जनामात्र छिर्न सक्ने गरी गेट थोरै खोलिएको छ। सेवा लिन भित्र पस्ने र सेवा लिएर फर्किनेहरुलाई बाहिरभित्र गराउन त्यहाँ तीन जना प्रहरी खटिएका छन्। त्यसैले गेटमा निकै ठेलामठेल छ।

प्रतिक्रिया दिनुहोस्