उपरथी शाहीलाई सेवाबाट बर्खास्त गर्ने सैनिक अदालतको फैसला

काठमाडौं, फागुन १९ । सैनिक अदालतले हिरासतमा राखिएका सेनाका उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त गर्ने फैसला गरेको छ । त्यस्तै, महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमल्सिनाको एक अवधि बढुवा रोक्का गरिने भएको छ ।

सैनिक मुख्यालय भद्रकालीस्थित अदालतमा बिहीबार भएको फैसलासँगै उपरथी शाही, महासेनानी शाह र प्रमुख सेनानी तिमल्सिना हिरासतमुक्त भएका छन् । उनीहरूलाई सेनाले परिवारको सदस्यलाई जिम्मा लगाएर घर पठाएको छ । सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले उपरथी शाहीलाई सेवाबाट अवकाश गर्ने तथा शाह र तिमल्सिनालाई सैनिक ऐनअनुसार कारबाही गर्ने फैसला भएको बताए ।

‘आर्थिक अनियमितता कसुर टुंगो लगाउन सैनिक अदालत गठन भएको थियो । अदालतले बिहीबार नै प्रेम शाहीलाई सेवाबाट हटाउने फैसला गरेको छ । उहाँको कसुर पुष्टि भएको छ । त्यस्तै, शाह र तिमल्सिनालाई सैनिक ऐनअनुसार कारबाही गर्ने भनिएको छ । तर, उहाँहरूलाई सेवाबाट बर्खास्त गर्ने भनिएको छैन । कारबाही सामान्य प्रकृतिकै भएको बुझेको छु,’ प्रवक्ता भण्डारीले भने ।

शाही गत २० पुसदेखि सैनिक हिरासतमा थिए । उनलाई सघाएको भन्दै १४ फागुनमा शाह र तिमल्सिनालाई पनि हिरासतमा लिइएको थियो । सेनाले उपरथी शाहीलाई आर्थिक हिनामिना गरेको अभियोग लगाएको थियो । अदालतले शाहीमाथिको अभियोग पुष्टि भएपछि सेवाबाट बर्खास्त गरिएको सेनाले जनाएको छ । शाहीलाई सहयोग गरेको भन्दै सैनिक विद्रोह (मटिनी)को अभियोग लगाइएका महासेनानी शाह र प्रमुख सेनानी तिमल्सिनालाई भने अदालतले सैनिक ऐनअन्तर्गतको सामान्य कसुर लगाउँदै बढुवा रोक्का गर्ने फैसला भएको छ ।

उनीहरूविरुद्ध अब फैसला गरिनुपर्ने कुनै कसुर नभएको हुँदा कानुनअनुसार परिवारको जिम्मा लगाएर घर पठाइएको सैनिक प्रवक्ता सहायक रथी भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्