राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आज नेपाल, लामिछाने र लिङ्देनलाई भेटेरै भाेट माग्ने
काठमाडौं, फागुन १८ । राष्ट्रपतिमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले आज अन्य दलका शीर्ष नेताहरूलाई भेटेरै भोट माग्ने भएका छन्।
उनले नेकपा एकिकृत समाजवादीका नेता, रास्वपाका नेता र राप्रपाका नेताहरुलाई पार्टीकाे कार्यालयमै गएर व्यक्तिगत रुपमा भेटेरै भोट माग्ने तयारीमा रहेको बताइएको छ।
उनले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बिहान ११ बजे भेट्ने कार्यक्रम छ। भेटमा नेम्वाङसँगै विष्णू पौडेल र पृथ्वीसुब्बा गुरुङ पनि हुनेछन्।
त्यस्तै दिउँसो १ बजे रास्वपाका सभापति रवि लामिछाने सँग भेट गर्नेछन्। भेटमा नेम्वाङसहित नेता योगेश भट्टराईलगायतका नेताहरु सहभागी हुनेछन्।
त्यसैगरी दिउँसो २ः ३० बजे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर राष्ट्रपतिमा आफ्नो लागि भोट माग्नेछन्। राप्रपा र रास्वपाले अहिलेसम्म राष्ट्रपतिमा कसलाई मत दिने भन्ने खुलाएका छैनन्। नेकपा एसले भने आठ दलीय गठबन्धनबाट उम्मेदवार भएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने धारणा सार्वजानिक गरिसकेको छ। यसअघि नेकपा एमालेको सचिवालय बैठकले कांग्रेसबाहेक सबै दललाई पत्र पठाएर मत मागेको थियो। पत्र लेखे पनि नेम्वाङ आफैँले पनि भेटबाटै भोट माग्ने तयारी गरिएका हुन्।















प्रतिक्रिया दिनुहोस्